ज्योतिष जादु होइन। Astro Dr Aayushman Regmie

ज्योतिषी दुई प्रकारका हुन्छन्। एउटा ज्योतिष बिषयलाई जादु,चमत्कारजसरी व्याख्या गर्ने, अर्का ज्योतिषलाई वैज्ञानिक दृष्टिकोणबाट व्याख्या गर्ने। त्यसैगरी ज्योतिषीकोमा चिना हेराउन जाने व्यक्तिहरु तीन प्रकारका हुन्छन्। १.ज्योतिष शास्त्रमा विश्वास मान्ने तर यो केवल भाग्य हेर्ने विषयमात्र हो भन्ने बुझाइ भएका तथा आउँदा बित्तिकै ल मेरो भाग्य हेरिदिन पर्यो भन्ने २.ज्योतिष विषय के हो जान्नै नचाहने र यसलाई नबुझी गाली गर्ने अथवा भनौ मलाई ज्योतिषमा विश्वास लाग्दैन किनकी मँ भाग्य भन्ने कुरामा विश्वास राख्दिन किनकी जे हुन्छ कर्मलेमात्र हुन्छ। ३. GUIDANCE को लागि आउने व्यक्तीहरु जसलाई थाहा छ ज्योतिष भाग्य हेर्ने विषयमात्र नभएर मार्गदर्शन गर्ने शास्त्र हो र यो प्राचीन विज्ञानमा आधारित खोज हो।

अहिले ब्रह्माण्डमा स्थित तारा,नक्षत्र र ग्रहहरुलाई हेर्न सजिलै सकिन्छ टेलिस्कोपको सहायताले तर आजभन्दा लगभग ५००० बर्ष अगाडि जुन समयमा टेलिस्कोपको आविष्कारनै भएको थिएन त्यो बेला प्राचीन वैज्ञानिक ॠषिहरुले गणितीय आधारमा नक्षत्रहरुको स्वरूप,राशिहरुको स्वरूप ग्रहहरुको गति र ती ग्रहहरुको मानवजीवनमा पर्ने राम्रो नराम्रो प्रभावबारे अनुसन्धान गरेका थिए। मंगल ग्रह रातो छ भनेर उहिले नै भनिसकेको कुरा आज सत्य साबित भैसकेको छ। आज आधुनिक वैज्ञानिकले मंगल ग्रह पृथ्वीबाट नै अलग भै बनेको हो भन्दै गर्दा उहिले नै प्राचीन ॠषिहरुले मंगलग्रहलाई भूमिसुत: भनेर लेखिएको पाइन्छ।

अहिले ज्योतिष परामर्शको रूपमा फैलिएको छ। यसका केही अत्यन्त राम्रा केही नराम्रा पक्ष छन्। यसका राम्रा पक्षहरु- ज्योतिषको क्षेत्रमा युवाहरूको आगमनले ज्योतिष शास्त्रमा नयाँ खोजहरू भइरहेका छन्। पुरानो परम्परागत पद्धतिको साथ-साथै नवीन पद्धतिअनुसार फलादेश तथा अनुसन्धान भैरहेको छ। पहिलेभन्दा अहिले ज्योतिषीहरुसँग मार्गदर्शन लिने संख्या बढ्दो छ। विवाह,व्यापार,निवेश,वैदेशिक यात्रा,गर्भाधान(babyplanning) सम्बन्धबारे परामर्श लिनेको संख्या बढ्दो छ। अहिले ज्योतिष चाँसोको बिषय बनेको छ। ठुलो घाटा बेहोर्नुभन्दा,रोगी सन्तान जन्माउनुभन्दा बरु चिना हेराएर परामर्श लिनु राम्रो भन्ने बुझाइ रहेको छ र यसले ज्योतिष शास्त्रलाई हराउनबाट जोगाएको छ। धेरै जनाले परामर्श लिने हुनाले र ज्योतिषहरुका बिचमा प्रतिस्पर्धा बढ्नाले ज्योतिषीहरुलाईपनि नयाँ खोज गर्ने प्रेरणा मिलिरहेको छ। यी केही राम्रा पक्षहरु रहेका छन्।

नराम्रा पक्ष- ज्योतिष शास्त्रलाई गुरुहरुको सानिध्यमा राम्रोसँग अध्ययन नगरी, यसको व्यावहारिक ज्ञान नगरी केवल किताबहरु पढेको भरमा ज्योतिष परामर्श दिने कार्यालय सञ्चालन गर्ने चलनपनि चल्ने गरेको छ। यसरी व्यावहारिक ज्ञान नगरी फलादेश गर्दा फलादेश पूर्णतः नमिलेको देखिन्छ तथा अनुभवी र व्यावहारिक ज्ञान लिएका ज्योतिषीले भनेको र केवल किताबी ज्ञान लिएका ज्योतिषीले भनेका कुरामा अन्तर देखिँदा हेराउन गएका मान्छेमा भ्रमसृजना हुनेगर्दछ। जसले गर्दा हेराउन गएका मान्छेहरूलाई ज्योतिषीहरुप्रति वितृष्णा जागेर आउँछ। कतिपय पुस्तकहरुमा सबैकुरा राम्रोसँग बुझाएर लेखिएको हुँदैन जसले गर्दा गुरुको सानिध्यमा अध्ययन नगरी पुस्तकबाटमात्र पढ्दा त्यहाँ भनिएका कुराहरुको अनर्थ लाग्छ। उदाहरणको लागि मांगलिक योग पुस्तकमा पढ्दा लग्न,चौथो,सातौं,दशौं,बाह्रौं भावमा मंगल ग्रह स्थित छ भने मांगलिक योग बन्छ भनिएको छ तर मांगलिक योग राम्रो हो। यसलाई नबुझिकन मांगलिक योगलाई नै मांगलिक दोष भन्ने गरेको देखिन्छ। यीनै भावहरुमा मंगल देख्दाबित्तिकै ओहो! मांगलिक दोष रैछ हजुरको। मांगलिक दोषको स्वस्ति शान्ति गर्नुहोला नत्र दुई विवाह हुन्छ भनिएको देखिन्छ। मंगल यीनै भावहरुमा शत्रुराशिमा अथवा निचो भै बसेको छ भनेमात्र मांगलिक दोष हुन्छ। अनुभवी ज्योतिषीले मांगलिक दोष हैन भन्नुहुन्छ। तर सामान्य पढेकाले मांगलिक दोष हो भनिदिनुहुन्छ अब हेराउन गएका मान्छेले कसको विश्वास मान्नु? क्रमशः Astro Dr Aayushman Regmie MA(ज्योतिष) PhD(ज्योतिष)

https://youtube.com/channel/UCpvZ6reC8iph15Th63NlFBA

Leave a Comment

Your email address will not be published. Required fields are marked *